भोक उस्तै, भोकमरीको प्रकार उस्तै उस्तै तिम्रो मेरो जिन्दगीको आधार उस्तै उस्तै
भिन्नै मुलुक, भिन्नै भाषा, भिन्नै बोलीवचन काम उस्तै हाम्रा हातको औजार उस्तै उस्तै
घर सम्झन्छु, द्वार सम्झन्छु आँखा रसाउँछ्न् हाम्रा घरको छानामाथी झार उस्तै उस्तै
तिमी गाउँमा, म खाडिमा, ऊ सहरमै व्यस्त तिम्रो मेरो पसीनाको आकार उस्तै उस्तै
पुग्दैन खोइ खट्छु सधै भोकै बस्छ जहान खाली पेटको आगो उस्तै अंगार उस्तै उस्तै
बस्ती फरक, सहर फरक रूप-रङ्ग फरक तिम्रो मेरो रगत लुट्ने बजार उस्तै उस्तै
कामको सम्मान खोज्दै मरे धेरै साथीहरू तिम्रा बैरी, मेरा दुश्मन प्रहार उस्तै उस्तै
युगौंदेखि नाङ्गै-भोकै हाम्रो एउटा जमात झुप्रा उस्तै तिम्रो मेरो घरबार उस्तै उस्तै
चुरा माग्छिन् , पोते माग्छिन् , दिन सकिँदैन तिम्री मेरी सँगिनिको शृङ्गार उस्तै उस्तै
हिस्सा माग्दा हिंस्रक भन्दै गोली बर्साउँछन् तिम्रो मेरो विरूद्धका प्रचार उस्तै उस्तै
शरीर गल्छ पसिनाले दु:खले गल्छ जीवन तिम्रो मेरो गरिवीको मार उस्तै उस्तै
मिहिनेतको मूल्य छैन शिपको सम्मान छैन तिम्रो मेरो जिन्दगीको सार उस्तै उस्तै ।
२०७५ भदौ ५ चावहिल, काठमाण्डौ ।
प्रतिकृया