काठमाडौं । पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन भएको छ। उपचारका लागि वीर अस्पताल लैजाने क्रममा उहाँको बाटोमै निधन भएको हो।
दाहालको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन्। वि.सं. १९९८ कात्तिक २५ गते ओखलढुङ्गा जिल्लाको साविक वरुणेश्वर गाउँ विकास समिति–३, रामपुरमा जन्मिनुभएका दाहाल लोकतन्त्र, प्रेस स्वतन्त्रता र सामाजिक न्यायका पक्षमा आजीवन क्रियाशील रहनुभएको थियो।
पञ्चायतकालको कठोर निरंकुश शासनकालमा समेत अन्याय र दमनका विरुद्ध निर्भीक रूपमा कलम चलाउनुभएका दाहाल एक सशक्त साहित्यकारसमेत हुनुहुन्थ्यो। प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाएको कारण उहाँले पटक–पटक गिरफ्तारी बेहोर्नु परेको थियो भने करिब तीन वर्ष जेल जीवन पनि बिताउनुभएको थियो।
पञ्चायतकालमै ‘राष्ट्रपुकार साप्ताहिक’ मार्फत पत्रकारितामा सक्रिय रहँदै उहाँले स्वतन्त्र प्रेसको आवाज बुलन्द गर्नुभएको थियो। उहाँको योगदानले नेपाली पत्रकारितामा साहस, सत्य र प्रतिबद्धताको उदाहरण प्रस्तुत गरेको छ।
दाहालले गोरखापत्र संस्थानको अध्यक्ष तथा महाप्रबन्धकका रूपमा समेत जिम्मेवारी सम्हाल्नुभएको थियो। पत्रकारिता, साहित्य र सार्वजनिक जीवनमा उहाँले पुर्याउनुभएको योगदानको विभिन्न क्षेत्रबाट स्मरण भइरहेको छ।
प्रतिकृया