काठमाडौँ । चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको हृदयघातका कारण आइतबार निधन भएको छ। उनको निधनको खबर निर्माता राजेश वंशलले तामाङकी श्रीमतीलाई उद्धृत गर्दै रातोपाटीसँग पुष्टि गरेका हुन्। अचानक आएको यस दुखद समाचारले संगीत तथा चलचित्र क्षेत्र स्तब्ध बनेको छ।
निर्माता वंशलका अनुसार केही दिनअघिसम्म तामाङ पूर्ण रूपमा स्वस्थ थिए। “तीन दिनअघि मात्रै उहाँसँग कुराकानी भएको थियो। आज अचानक यस्तो खबर सुन्दा विश्वास गर्न गाह्रो भइरहेको छ,” उनले भने। परिवारजनले हृदयघात नै निधनको कारण भएको जानकारी दिएका छन्।
इन्डियन टेलिभिजन रियालिटी शो इन्डियन आइडल को तेस्रो संस्करण जितेपछि तामाङ व्यापक चर्चामा आएका थिए। उनी भारतीय तथा नेपाली दर्शकमाझ लोकप्रिय गायकका रूपमा स्थापित थिए। गायनसँगै उनले अभिनय क्षेत्रमा पनि सक्रियता बढाएका थिए।
तामाङले नेपाली चलचित्र गोर्खा पल्टन, परदेशी र परदेशी २ लगायतका फिल्ममा अभिनय गरेका छन्। साथै, उनले थुप्रै नेपाली तथा हिन्दी गीतमा स्वर दिएका छन्। पछिल्लो समय उनी सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ मा अभिनय गर्दै थिए, जसको डबिङ कार्य अझै बाँकी रहेको बताइएको छ।
भारतीय मूलका नेपालीभाषी गायक तामाङ केही समयदेखि दिल्लीमा बस्दै आएका थिए। उनको निधन पनि दिल्लीमै भएको जनाइएको छ। उनको असामयिक निधनले नेपाली तथा भारतीय संगीत क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको छ।
प्रतिकृया