बान्नीगढी वरदादेवी कोटघर कालिका
अछाम त वैकुण्ठ रैछ धन्य हो मालिका
जनजिब्रोमा झुन्डिएको यो लोकगीतले सदियौँदेखि बोलिरहेको छ कि अछाम वैकुण्ठ क्षेत्र हो । हुन पनि किन नहोस् हिमवत् खण्डमा समेत अछामको वर्णन गरिएको छ । यही पवित्र भूमिमा रहेको बान्नीगढी जयगढ गाउँपालिका पुरातात्विक, धार्मिक र ऐतिहासिक महत्व बोकेको क्षेत्र हो । यथार्थतामा यस क्षेत्रको ऐतिहासिक खोज–अनुसन्धान हुन सकेको छैन ।
स्थानीय सरकारले पनि पूर्ण रूपले यस क्षेत्रको ऐतिहासिकतालाई महत्वका साथ हेरेको पाइँदैन । जसको ज्वलन्त उदाहरण हो, जयगढ बजारको सडक छेवैमा बेवारिसे अवस्थामा रहेको एक महत्वपूर्ण अभिलेख । यतिमात्रै होइन, केही समयअगाडि जयगढ बजारको मुटुमा रहेको सरस्वतीको प्राचीन मन्दिरलाई भत्काएर नयाँ सिमेन्टको व्यावसायिक संरचना निर्माण गरिनुले पनि यस क्षेत्रमा सम्पदाको मौलिकताका बारेमा कत्तिको चासो र चिन्ता छ भनेर प्रस्ट बुझिन्छ ।
सदियौँदेखि अलपत्र परेको अभिलेखका बारेमा केही दिनअघि मैले सामाजिक सञ्जालमा पोस्ट गरेपछि देश–विदेशमा रहनुभएका धेरैले चासो र चिन्ता व्यक्त गर्नुभयो । चासो र चिन्ता नहोस् पनि कसरी ? यत्तिको महत्वपूर्ण सम्पत्तिलाई विशेष निगरानीमा वा विशेष तरिकाले संरक्षण गरिएको हुनुपथ्र्याे । यसबारे खोज–अनुसन्धान गरेर जानकारी गाउँपालिकाको वेबसाइट वा अन्य कुनै माध्यमबाट प्रकाशन–प्रसारण हुनुपर्ने हो । यत्तिको प्राचीन दस्तावेजलाई यस क्षेत्रका जिम्मेवार मानिसहरूले संरक्षण र व्यवस्थापनका लागि केही कदम चाल्नुपर्ने हो । त्यो कदम कसरी चालियो होला भनेर उक्त शिलालेखको अवस्था हेरेर अड्कल गर्न सकिन्न ।
जयगढमा रहेको यो पत्थरमा लेखिएको ॐ मणि पद्म हुँ अहिले पनि स्पष्ट पढ्न सकिन्छ । बाँकी के लेखिएको छ पढ्न सकिँदैन । पढ्न सकियोस् पनि कसरी ? जब कि यो शिलालेखले ६०० वर्षभन्दा बढी हावा पानी, असिना र हिउँ सहेर बसेको छ । ६०० वर्षमा कतिपटक पानीले भिजायो होला ? कतिपटक असिनाले चुट्यो होला ? कतिपटक हिउँले ढाक्यो होला ? यसको लेखाजोखा यहाँ गर्न नसकिएला । तर, त्यहाँ कुँदिएका अक्षर आज अस्पष्ट हुनुको कारण भने शिलालेखलाई सुरक्षित राख्न नसक्नु नै हो ।
के लेखिएको छ शिलालेखमा ?
चार कुना चिटिक्क मिलेको यो शिलालेख चार हरफको छ । अक्षरभन्दा माथि तीनवटा गोलाकार आकृति बनाइएको छ । पहिलो हरफमा ठूलो अक्षरमा लेखिएको छ, ‘ॐ मणि पद्म हुँ’ । जहाँ लेखिएको व्यहोरा यसप्रकार छ ।
“ॐ मणि पद्मे हुँ ।
महामण्डलेश्वर बुद्धकु ।
लावतार श्रीयशब्रह्मश्चरं जयतु ।।
श्री शाके १२७६ ।।”
(स्रोतः डा.राजाराम सुवेदी
‘अछामको इतिहास’ पृष्ठ –१७६)
उक्त शिलालेख पढ्दै जाँदा झन्झन् अस्पष्ट देखिन्छ । यसको मितिसम्म पुग्दा त ठम्याउनै सकिँदैन । यद्यपि, महामण्डलेश्वर यशोवर्माले यो शिलालेख बनाउन लगाएको कुरा यहाँबाट प्रस्ट हुन्छ । शिलालेखको व्यहोरा जानिसकेपछि सबैलाई जिज्ञासा हुन सक्छ यशोवर्मा को हुन् ?
को हुन् यशोवर्मा ?
इतिहासमा वर्मासँगै बम्म, व्रह्म, बर्मा पनि लेखिएको पाइन्छ । पृथ्वी मल्लको राज्यकालमा राजधानी सिंजा र दुल्लुमा रहेको थियो । यशोवर्मा कर्णालीका मल्ल राजा पृथ्वीमल्लको पालाका प्रधानमन्त्री÷मुख्यमन्त्री भएको कुरा इतिहासमा भेटिन्छ । जहाँ उनलाई महामण्डलेश्वर भनेर सम्बोधन गरिएको पाइन्छ । शाब्दिक हिसाबले हेर्दा महामण्डलेश्वर भनेको प्राचीन राजाको एक उपाधि हो ।
जुन उपाधि÷पद कर्णालीमा यशोवर्माले पनि पाएको देखिन्छ । यहाँ रोचक कुरा के छ भने दैलेखमा रहेको प्राचीन पाथर नाउली र जयगढको यो शिलालेख एउटै वर्षमा लेखिएका हुन् । पाथर नाउलीको शिलालेखमा पनि यशोवर्माको चर्चा गरिएको छ । जुन राजा पृथ्वी मल्लले तन्त्यालवंशी देउवर्माबाट निर्माण गर्न लगाएका थिए । यता अछामको कुच्ची विहारमा समेत पृथ्वी मल्लकै शिलालेख छ जुन शाके १२१६ मा लेखिएको स्पष्ट देखिएको छ । तर, इतिहासकारहरूले कुच्चीको विहार पाथर नाउलीपछि निर्माण भएको गलत तथ्य पेस गरेका छन् ।
यशोवर्माको अछाम कनेक्सन
यशोवर्माको शिलालेख भेटिएसँगै उनको अछामसँगको सम्बन्धका बारेमा जिज्ञासा उठ्छ नै । कर्णाली राज्यका महामण्डलेश्वरको अछाम कनेक्सनलाई अझै खोजको विषय बनाउने ठाउँ प्रशस्तै छन् । नागराज वंशीय खसमल्ल राजाहरूको शासनकर्णालीमा करिब ४०० वर्षसम्म चलेको पाइन्छ । विभिन्न समयमा यस क्षेत्रका राज्य स्वतन्त्र हुँदै गए । जब तिब्बत त डोटी राज्य स्वतन्त्र भयो त्यसपछि भने कर्णालीको सिंजा राज्य बिस्तारै कमजोर हुँदै गएको पाइन्छ ।
अछामको कुच्ची विहारको शिलालेख र दैलेखमा भेटिएका विभिन्न शिलालेखको मिति हेर्ने हो भने राजा पृथ्वी मल्लको शासनकालमाथि प्रश्न भने अवश्य उठ्न सक्छ । यद्यपि, तत्कालीन समयका विभिन्न शिलालेखलाई अध्ययन गर्दा राजा पृथ्वी मल्लले अछाममा समेत केही समय बिताएको प्रस्टै हुन्छ । अझै पाथर नाउली र जयगढको शिलालेख एकै वर्षमा लेखिएको देखिन्छ । र, ती दुवैमा यशोवर्माको नाम पनि छ ।
दार्चुलाको लेकममा रजबार भएर बसेका पाल खलकका निरयपालको डोटीमा उदय कर्णालीमा पृथ्वी मल्ललाई टाउको दुखाइको विषय बनेको थियो । उसै त शक्तिशाली कर्णाली राज्य कमजोर बनिरहेका वेला बाह्य शक्ति बलियो बन्दै जानु खतराको संकेत नै थियो । त्यसैले पनि राजा पृथ्वी मल्लले आफ्ना महमण्डलेश्वरलाई कूटनीतिक रूपमा अछाममा पठाएका थिए । यही क्रममा महामण्डलेश्वर यशोवर्मा अछामको जयगढमा बसेको कुरा अध्ययन गर्न सकिन्छ । डोटीको तत्कालीन अवस्थालाई मध्यनजर गर्दै यशोवर्मालाई त्यस क्षेत्रमा खटाइएको कुरा बुझिन्छ ।
सामरिक महत्व बोकेको बान्नीगढी
जयगढमा भेटिएको शिलालेखले नै यस क्षेत्रको ऐतिहासिकता झल्काउछ । यहाँ प्राचीन समयमा एउटा मार्ग थियो । त्यसैले पनि त्यसताका जयगढलाई थर्पुकाट्या भनिन्थ्यो । थर्पु भन्नाले बाटाघाटामा बनाइने अस्थायी छाप्रा भन्ने बुझिन्छ । जयगढमा रहेको बान्नीगढी क्षेत्र ऐतिहासिक, पुरातात्विक, धार्मिक क्षेत्रका साथै सामरिक दृष्टिकोणबाट हेर्दा पनि महत्वपूर्ण मानिन्छ । यहाँबाट अछामका विभिन्न ठाउँलाई नियाल्न सकिन्छ । साथै, अछामसहित डोटी, बाजुरा, बझाङ र कैलालीका भूभाग पनि नियाल्न सकिन्छ ।
विशाल अछाम राज्यका राजा देवचन्द्र समालका सन्ततिहरूले आफ्नो राजधानी सेरा बुढीथर्पुबाट बान्नीगढीमा सारेको इतिहास छ । सुरुवातमा बान्नीमा मौसमी दरबार बनाइएको भए पनि सामरिक दृष्टिकोणमा यो ठाउँ निकै उपयुक्त भएका कारण पछि स्थायी रूपमै बान्नीमा सोमवंशी समालहरू बसेका थिए । उनीहरूको सन्तानले बान्नीगढीमा वरदादेवीको मन्दिर बनाउन लगाएका थिए । अछामी राजाले मंगलसेन सर्नु पहिले बान्नीबाटै राज्यसञ्चालन गरेका थिए । पछि नेपाल एकीकरणताका गोर्खाली सेनाले बान्नीमा फौज बसालेर यस क्षेत्रलाई बढी निगरानीमा राखेको थियो ।
अछामी राजाले गोर्खा राज्यसँग क्रमशः विसं १८४७,४८,४९ मा गरी तीनपटक युद्ध लडेको इतिहास छ । पहिलोपटकको युद्धमा पूर्वी अछाममा ठूलो क्षति व्येहोर्नुपरेको थियो । १८४८ मा फेरि फौज बनाई राजा देवचन्द्रले बान्नीगढीमा बसेको गोर्खाली फौजमाथि हमला गरेका थिए । रामनवमीको मौका पारी रातको १२ बजेपछि बान्नीगढीलाई घेरेर आगो लगाउने योजना राजा देवचन्द्रको थियो । सोहीअनुसार चारैतिरबाट गोर्खालीको थर्पुमा आगो लगाई भाग्ने सेनाहरूलाई अछामी फौजले काटेको थियो ।
युद्धबाट भागेका दुईजना घाइते गोर्खाली सेनालाई दर्नाली राजाले उपचार र पालनपोषण गरेका थिए । जसकारण गोर्खासँग दर्नाली राजाको सम्बन्ध निकट भएको मानिन्छ । अन्तिमपटक १८४९ मा फेरि गोर्खा सेनाले अछाममाथि आक्रमण गरेको थियो । उक्त युद्धमा हार व्यहोर्नुपरेसँगै अछामी राजाले राज्यसमेत गुमाउनुपरेको थियो । उक्त पराजयसँगै अछाम नेपालमा विलय भएको थियो । यसरी देवचन्द्र समालबाट सुरु भएको अछाम राज्यको इतिहास देवचन्द्र शाहसम्म आएर सकिएको कुरा इतिहासले प्रस्ट पार्छ । त्यसपछिका राजाहरूलाई भने स्वतन्त्र अछाम राज्यका राजा मान्न सकिँदैन ।
समग्रमा यशोवर्माको शिलालेख, अछामी राजाको राजधानी, गोर्खाली फौजको गढी रहेको बान्नीगढी क्षेत्र धेरै कुराले महत्वपूर्ण छ । बान्नी क्षेत्रमा नेपालका पहिलो सहिद भनेर दाबी गरिएका बाँकावीरको शिर काटिएको काफलखेत (कवलखेत), अछाममा शिक्षाको क्रान्ति ल्याउने विद्वान् दण्डी स्वामी केवलानन्दको आश्रमस्थल, दर्नाली राजाको दरवार क्षेत्र, दर्ना देवल, जनालीकोट, छातासैनजस्ता ऐतिहासिक ठाउँसमेत छन् ।
खोजको विषय
अछाममा राज्यसञ्चालन गरेका सोमवंशी राजाहरूको इतिहास पनि रोचक छ । खतिवडा भट्ट बाहुनका सन्तान मानिने अछामी राजाको इतिहास राजा देवचन्द्र समालबाट सुरु हुन्छ । जुम्लाका सिजापति महाराजले आफ्नी छोरी हारमता मैयाका छोरालाई राज्य दिने पूर्ववचनअनुसार नै नाति देवचन्द्रलाई अछाम राज्य बिर्ता दिएका थिए । यसरी देवचन्द्र समालबाट सुरु भएको सोमवंशीको राज्यकाल राय, मल्ल, व्रह्म, शाही हुँदै शाहसम्म भएको पाइन्छ । यी सबै थर सोमवंशी राजाहरूको वंशावलीमा उल्लेख भएको पाइन्छ । सोमवंशीको पुस्तावली नियाल्दा उनीहरूले समय कालखण्डमा थर वा पदवी बदलेको अनुमान गर्न सकिन्छ ।
इतिहासमा वर्मालाई नै कतै बम्म, बर्मा, व्रह्म भनेर पनि उल्लेख गरिएको छ । यसरी हेर्दा जयगढमा भेटिएको शिलालेखमा उल्लेख गरिएका यशोवर्मा पनि अछामी राजा नै हुन् कि भनेर प्रश्न उठाउने ठाउँ भने छ । अछामी राजाको वंशावलीमा यसुव्रह्मको नामसमेत उल्लेख छ । जसलाई पाठ गर्ने क्रममा जसुव्रह्म पनि लेखिएको भेटिन्छ । सोमवंशी विमकोटे अछामी राजाका सन्तान जनकबहादुर शाहका अनुसार आफ्नो पुर्वज सुरुदेखि नै हिन्दु भएको र यता जयगढको शिलालेखमा ‘ॐ मणि पद्मे हुँ’ लेखिएको हुनाले त्यी यशोवर्मा आफ्नो पूर्वज हुन नसक्ने बताउनुहुन्छ । यद्यपि, यो एक खोजको विषय भने अवश्य हुन सक्नेछ ।
नयाँ पत्रिकाबाट साभार: –कमल संघर्ष
प्रतिकृया