काठमाडौँ– विवेकशील नेपाली अभियानका पूर्व अध्यक्ष मिलन पाण्डेले आउँदो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। यसअघि २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवारी दिइसकेका पाण्डे विवेकशील नेपाली दलका संस्थापक नेतामध्ये एक हुन्। उनी स्वर्गीय उज्ज्वल थापासँगै वैकल्पिक राजनीतिका अभियन्ताका रूपमा चिनिन्छन्।
शिक्षा, उद्यम, युवा सशक्तीकरण तथा वैकल्पिक राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका पाण्डे नेपाली राजनीतिमा नयाँ संस्कार, पारदर्शिता र उत्तरदायित्व स्थापित गर्ने अभियानमा निरन्तर लाग्दै आएका छन्। उनले विशेषतः नीति निर्माण, सुशासन र नागरिक सहभागितालाई केन्द्रमा राख्दै राजनीति गर्नुपर्ने धारणा अघि सार्दै आएका छन्।
काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ मै जन्मेर हुर्किएका पाण्डे हाल शिक्षा नीति तथा उद्यम क्षेत्रसँग नजिकबाट आबद्ध छन्। उनले आगामी निर्वाचनमा पार्टीको तर्फबाट वा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने विषयमा छलफल भइरहेको जानकारी दिएका छन्।
प्रतिकृया