जनकपुरधाम, पुस २६
धनुषाको मिथिला नगरपालिका–२ स्थित सुकजोरमा रहेको सन्त रामपाल आश्रम अगाडि झडपको अवस्था सिर्जना भएको छ। ऐलानी जग्गा अतिक्रमणको विषयलाई लिएर भारतीय धर्मगुरु सन्त रामपालका अनुयायी र स्थानीय बासिन्दाबीच विवाद चर्किँदै झडपमा परिणत भएको हो।
झडप उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सात सेल अश्रुग्यास प्रहार गरेको छ। इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवका अनुसार अवस्था हाल नियन्त्रणमा रहेको छ भने थप अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको छ।
स्थानीयवासीले आश्रमले सरकारी ऐलानी जग्गा अतिक्रमण गरेको आरोप लगाउँदै विरोध जनाएका थिए। सोही क्रममा दुवै पक्षबीच भनाभन र धकेलाधकेल भएपछि तनाव बढेको प्रहरीले जनाएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ।
प्रतिकृया